महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौं,
कात्तिक २२ ।

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली साहित्यमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष लक्ष्मीपूजाका दिन नेपालसहित भारतका विभिन्न क्षेत्र तथा नेपाली भाषीको बाहुल्यता रहेका स्थानमा देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।

विसं १९६६ साल कात्तिक औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गर्नुभएको थियो ।

उहाँका चर्चित कृतिमा ‘मुनामदन’, ‘शाकुन्तल’, ‘भिखारी’, ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ र ‘प्रमिथस’ लगायत रहेका छन् ।

साहित्यमा नवीन प्रयोगमार्फत विशिष्ट पहिचान बनाउनुभएका देवकोटा राणा शासनविरुद्ध जनताले पनि शिक्षा पाउनुपर्ने आवाज उठाएका कारण पटकपटक जेल पर्नुभएको थियो । उहाँ विसं २०१५ मा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारका शिक्षामन्त्रीसमेत बन्नुभएको थियो ।
देवकोटाको जन्मघरलाई सरकारले संग्रहालयका रूपमा विकास गरेको छ । नेपाली साहित्य र भाषा क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको सम्मानस्वरूप उहाँको जन्मजयन्तीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार