काठमाडौं,
कात्तिक २२ ।
तिथिको घटबढका कारण यस वर्ष तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ । दिउँसो चतुर्दशी र साँझ औँसी तिथि पर्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दुवै पर्व एकै दिन मनाउने निर्णय गरेको हो ।
आइतबार बिहान यमराजको दूत तथा भैरवको वाहनका रूपमा कुकुरको पूजा गरिँदै छ । धार्मिक मान्यताअनुसार यमलोकको ढोकामा श्यामा र सबला नामका दुई कुकुरले पहरा दिने र मानिसको मृत्युको खबर यमराजलाई पुर्याउने विश्वास छ । महाभारतमा युधिष्ठिरले स्वर्गको ढोकासम्म साथ दिएको कुकुरलाई नछाडेको प्रसङ्गले पनि कुकुरको धार्मिक तथा सांस्कृतिक महत्त्व दर्शाउँछ ।
यसैगरी, साँझ धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी घरघरमा दीप प्रज्वलन गरेर दीपावली मनाइँदै छ । समुद्र मन्थनका क्रममा कात्तिक कृष्ण औँसीका दिन महालक्ष्मी प्रकट भएको धार्मिक विश्वासअनुसार यस रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीको स्वागत र धनधान्य तथा सुखसमृद्धिको कामनासहित घर, आँगन र मन्दिरमा दीप बाल्ने परम्परा छ ।
पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ । तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइटीका मनाइनेछ । समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ ।







