चेतन कार्कीको ८९औँ जन्मजयन्तीमा उहाँको बहुआयामिक व्यक्तित्वको चर्चा

काठमाडौं,
कात्तिक २२ ।

अमर स्रष्टा साहित्यकार, कलाकार तथा संस्कृतिविद् चेतन कार्कीको ८९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । चेतन कार्की स्मृति समाजद्वारा अनामनगरस्थित सामाजिक विकास समाजमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार बसुन्धरा भुसालको प्रमुख आतिथ्यता तथा समाजकी अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माको सभापतित्व रहेको थियो ।

कार्यक्रममा प्रमुख संरक्षक गंगा कार्की, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्रथम चलचित्र नायिका चैत देवी, वरिष्ठ गीतकार श्रीपुरुष ढकाल, कलाकार टीका पहाडी तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङलगायतले चेतन कार्कीको बहुआयामिक व्यक्तित्व र नेपाली साहित्य, कला तथा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्नुभयो ।

सो अवसरमा कलाकार टीका पहाडीले चेतन कार्कीले आफूलाई चलचित्रमा अभिनयका लागि भारतको बम्बई पठाउँदा लेखेको पत्र वाचन गर्नुभएको थियो । डा। गुरुङले कार्कीसँगका पुराना स्मृति सुनाउँदै संघर्षपूर्ण जीवनयात्रा र चलचित्र क्षेत्रमा हासिल गरेको सफलताबारे चर्चा गर्नुभयो । गंगा कार्की र बसुन्धरा भुसालले पनि उहाँसँगका व्यक्तिगत तथा चलचित्र क्षेत्रका अनुभव साझा गर्नुभएको थियो ।

कार्यक्रममा राधेश्याम लेकालीले चेतन कार्कीका तीन मुक्तक वाचन गर्नुभएको थियो भने गायिका रितु कँडेलले ‘जून निदाउन थालेछ’ र गायिका गीता पाण्डेले ‘मायालुले के भन्यो’ गीत प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्ष मिथिला शर्माले चेतन कार्की राष्ट्रप्रेमी, सरल र बहुप्रतिभाशाली व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले आफ्नो व्यक्तिगत स्वार्थभन्दा राष्ट्र र अरूको हितका लागि जीवन समर्पित गरेको बताउनुभयो ।

कार्यक्रमको प्रारम्भमा कार्कीको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो । पत्रकार सुमन बैरागी पण्डितले सहजीकरण गरेको कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, साहित्यकार तथा सर्जकहरूको उल्लेख्य उपस्थिति थियो ।

‘बैंनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने’ र ‘तीजको रहर आयो बरिलै’ जस्ता लोकप्रिय गीतका सर्जक चेतन कार्की नेपाली साहित्य, संगीत तथा चलचित्र क्षेत्रमा विशिष्ट योगदानका लागि स्मरणीय छन् ।

यसमा तपाइको मत

अन्य समाचार