काठमडौं,
असोज २८ ।
शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ ।
पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गर्नुभएको थियो । आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले उहाँलाई ‘कुष्माण्डा’ तथा सृष्टिको आदिस्वरूपा र आदिशक्तिकी देवी भन्ने गरिन्छ । उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी यी देवीको बास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास छ ।
आठ वटा हात हुनुभएकी यी अष्टभूजा देवीको वाहन सिंह हो । उहाँका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौँ हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ । देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुई वटा घडा समेत लिनुभएको छ । उहाँको भक्तिपूर्वक पूजा-आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुने विश्वास गरिन्छ ।
नवरात्रको चौथो दिन आज पनि देशभरका प्रमुख नवदुर्गा मन्दिर तथा शक्ति पीठहरूमा देवीको दर्शन एवं पूजाआजाका लागि बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।






