काठमाडौं,
असोज २६ ।
बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्ये दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवी तपस्या, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीक हुन् ।
माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न हजारौँ वर्ष कठोर तपस्या गरेपछि उनको नाम ब्रह्मचारिणी रहन गएको पौराणिक विश्वास छ । देवीको दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु रहेको वर्णन शास्त्रमा पाइन्छ ।
ब्रह्मचारिणी देवीको आराधना गर्नाले तप, त्याग, धैर्य, आत्मबल र ज्ञान वृद्धि हुने धार्मिक विश्वास छ । साथै आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख प्राप्त हुने मान्यता रहेको छ। ज्योतिषी दुर्गा भण्डारीका अनुसार ब्रह्मचारिणीको साधना विद्यार्थी, साधक तथा योगीहरूका लागि विशेष फलदायी मानिन्छ ।
आजका दिन देवीलाई फूल, अक्षता, चन्दन, फलफूल तथा विभिन्न प्रसाद चढाएर पूजा गरिन्छ । विशेषगरी सख्खर चढाई पूजा तथा दान गर्नाले बन्धनबाट मुक्ति मिल्ने र अनिष्ट नाश हुने धार्मिक विश्वास छ ।






