आज नवरात्रको तेस्रो दिन, माता चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं,
असोज २७ ।

बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज (मंगलबार) नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको पूजा तथा आराधना गरिँदैछ । यस अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा भक्तजनले श्रद्धापूर्वक देवीको उपासना गरिरहेका छन् ।

धार्मिक मान्यताअनुसार मस्तकमा घण्टी आकारको अर्धचन्द्र धारण गरेकी हुनाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो । सिंहमा सवार दशबाहु देवीलाई शक्ति, साहस, निर्भयता र शान्तिको प्रतीकका रूपमा पूजा गरिन्छ । चन्द्रघण्टा देवीको आराधना गर्नाले दुःख, कष्ट तथा बाधा हट्ने र परिवारमा सुख, शान्ति एवं समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

आजको पूजामा रातो फूल, फलफूल, चन्दन, धूप, दीप तथा दूध र दूधबाट बनेका परिकार चढाउने परम्परा छ । भक्तजनले ‘ॐ चन्द्रघण्टायै नमः’ मन्त्र जप गर्दै देवीको पूजा तथा स्तुति गर्ने गर्छन् ।

नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका शोभा भगवती, नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली र बंगलामुखीलगायत शक्तिपीठमा भक्तजनको विशेष चहलपहल हुने गरेको छ । उपत्यकाबाहिरका विभिन्न शक्तिपीठमा पनि दर्शन तथा पूजाआजाका लागि श्रद्धालु पुग्ने गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार