काठमाडौं,
असोज २० ।
निर्देशक सुदर्शन थापाको चलचित्र ‘शुभ विवाह’को छायांकन पूरा भएको छ । पोखरामा अन्तिम दृश्य खिचिएसँगै चलचित्रको ४० दिने छायांकन सकिएको हो । अधिकांश छायांकन पोखरामै गरिएको निर्माण पक्षले जनाएको छ ।
प्रियदर्शन फिल्मस्को ब्यानरमा निर्मित यस चलचित्रमा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूको यो पहिलो सहकार्य हो । चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, विशाल पहारीलगायतका कलाकारको पनि अभिनय छ ।
सुप्रिया कटुवाल निर्माता र साम भुजेल कार्यकारी निर्माता रहेको चलचित्रको कथा प्रदीप श्रीवास्तव तथा पटकथा-संवाद रामशरण पाठकको हो । राजेश श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत र मिलन श्रेष्ठको सम्पादन रहने चलचित्र ‘सात वाचाभन्दा पनि परको सत्य’ ट्यागलाइनसहित महाशिवरात्रिको अवसरमा फागुन २१ गतेदेखि प्रदर्शनमा आउनेछ ।






