काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करणका लागि २६ वटा चलचित्र छनोट

काठमडौं,
असोज २० ।

काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करणका लागि २६ वटा चलचित्र छनोट भएका छन् । फेस्टिभल आगामी अक्टोबर ३० देखि नोभेम्बर १ सम्म काठमाडौंस्थित रसियन सदनमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय आह्वानमार्फत फिल्ममध्येबाट आठवटा र १८ वटा छोटा फिल्म छनोट गरिएको आयोजकले जनाएको छ । छनोटमा २१ देशका फिल्म समेटिएका छन् भने तीमध्ये पाँचवटा नेपाली निर्माण वा सह-निर्माणका फिल्म छन् ।

फिल्मतर्फ बेलायतको ‘एब्यान्डन्ड’, सर्बियाको ‘फ्रष्ट’, अमेरिकाको ‘किल मी’, लेबनान, फ्रान्स, कतार र साउदी अरेबियाको सहकार्यमा बनेको ‘इन दिस डार्कनेस आई सी यू’, क्यानडाको ‘द र्‍याथ’, फ्रान्स र अमेरिकाको ‘द वन्स हु ग्रिभ’, इरानको ‘पोल्ट्री फार्म’ तथा अष्ट्रेलिया-नेपाल सहनिर्माणको ‘मोक्ष्य’ छनोट भएका छन् ।

त्यस्तै, छोटा फिल्मतर्फ नेपालका ‘केएनएआर’, ‘सिनर’, ‘द ओल्ड म्यान एन्ड द ग्रेभ’, ‘लाखे’ र ‘ए.एल.आई.सी.ई.’सहित अमेरिका, इटाली, स्लोभेनिया, बेल्जियम, स्पेन, अर्जेन्टिना, फ्रान्स, जापान, स्विट्जरल्याण्ड, ब्राजिल र मेक्सिकोका फिल्म छनोटमा परेका छन् ।

फेस्टिभल निर्देशक रशिक पाठकले हरर विधा अहिले सिनेमाको सबैभन्दा सिर्जनशील विधामध्ये एक बनेको बताउनुभयो । उहाँका अनुसार फिल्मकर्मीहरूले हररमार्फत लोककथा, मनोविज्ञान, समाज र पहिचानजस्ता विषयलाई प्रस्तुत गरिरहेका छन् ।

नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्ने काठमाडौं हरर फिल्म फेस्टिभल सन् २०२५ बाट सुरु भएको हो । हरर तथा विधागत सिनेमामा केन्द्रित फेस्टिभलले नेपाली फिल्मकर्मीलाई स्थानीय लोककथा, मिथक र परम्परामा आधारित कथा भन्न प्रोत्साहन गर्दै आएको छ । साथै, विश्वभरका विधागत फिल्मलाई नेपाली दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्य फेस्टिभलको रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार