काठमाडौं,
असोज २० ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज (मंगलबार)देखि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।
सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्दसत्रबाट पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । मतदाता नामावली प्रकाशन, दाबी-विरोध, त्यसउपर छानबिन तथा अन्तिम मतदाता नामावली प्रकाशनको काम सोमबार नै सकिएको निर्वाचन समितिले जनाएको छ ।
आजै अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोध गर्ने समय तोकिएको छ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । असोज २१ गते दिनभर उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् ।
त्यसपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग नहुने कांग्रेसका एक पदाधिकारीले बताएका छन् ।
कांग्रेस महाधिवेशनको मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । बागमती प्रदेशका लागि राष्ट्रिय सभागृह तथा गण्डकी र लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ ।
कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले पनि खुलामञ्चबाटै मतदान गर्ने व्यवस्था गरिएको छ ।
सोमबारको बन्दसत्रबाट पारित संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । नयाँ संरचनाअनुसार एक जना सभापति, एक जना वरिष्ठ उपसभापति र चार जना उपसभापति रहनेछन् । उपसभापतिमा कम्तीमा एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै, तीन जना महामन्त्री रहनेछन्, जसमा एक जना महिला अनिवार्य हुनेछ । सहमहामन्त्री १५ जना रहनेछन् भने कोषाध्यक्ष केन्द्रीय सदस्यबाट चयन गरिनेछ । एक जना प्रवक्ता र एक जना सहप्रवक्ताको व्यवस्था गरिएको छ ।
केन्द्रीय सदस्यतर्फ खुला ४५, महिला खुला १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार–चार जना निर्वाचित हुने व्यवस्था छ ।
यस्तै, विभिन्न समावेशी समूह, जनसम्पर्क समिति, युवा, श्रमिक, पेशागत विज्ञ, अपाङ्गता भएका व्यक्ति तथा प्रजातन्त्र सेनानीलगायतका लागि पनि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा रहनेछन् । निर्वाचित केन्द्रीय कार्यसमितिले पछि थप ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।






