काठमाडौं,
असोज २० ।
बडा दशैँलगत्तै कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कबड्डी ५’को प्रचार गीत ‘थाक खोला’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको गीतमा चलचित्रका मुख्य पात्र वीरकाजीसँग जोडिएका तीन हिरोइनलाई प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा ‘कबड्डी’ र ‘कबड्डी २’की मैँया अर्थात् रिश्मा गुरुङ तथा ‘कबड्डी ४’की शान्ति मिस अर्थात् मिरुना मगर देखिनुभएको छ । उहाँहरूसँगै चलचित्रकी नयाँ अभिनेत्री सिर्जना गुरुङलाई पनि प्रस्तुत गरिएको छ ।
भिडियोले वीरकाजीले सिर्जना गुरुङको पात्रसँग विवाह गरेको संकेत गरे पनि निर्माण पक्षले कथाबारे औपचारिक खुलासा गरेको छैन । यसअघि वीरकाजीको ‘ड्रिम गर्ल’का रूपमा देखिएका मैँया र शान्ति मिसलाई गीतमा समेटिएपछि चलचित्रको कथालाई लिएर दर्शकको कौतुहलता बढेको छ । ‘कबड्डी ३’की नायिका उपासना सिंह ठकुरी भने गीतमा देखिनुभएको छैन ।
‘जीवन काट्ने भए ठीकै हो, नत्र भने मायाको कुरै नगर’ बोलको गीतले वैवाहिक सम्बन्ध र प्रेमको निरन्तरताको भाव प्रस्तुत गरेको छ । चलचित्रका लेखक तथा निर्देशक रामबाबु गुरुङ हुनुहुन्छ भने फिल्म ‘बाँसुरी फिल्मस्’को ब्यानरमा निर्माण भएको हो ।
चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता हुनुहुन्छ । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।
नेपालमा चलचित्रको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।






