भद्रपुर,
असोज १५ ।
झापाको भद्रपुर-९, पोकापाडास्थित श्रीबालज्योती प्रतिष्ठान इङ्लिस स्कुलले विभिन्न नौ विधाका देश तथा विदेशमा रहेका स्रष्टालाई सम्मान गरेको छ । विद्यालयका संरक्षक तथा झापाली साहित्यकार सत्यनारायण तायलको लेखनमा तयार भएको भद्रपुर नगरपालिकाको विविधता समेटिएको नगरगीतको विमोचनको अवसर पारेर स्रष्टाहरूलाई सम्मान गरिएको हो ।
विद्यालयका अध्यक्ष लवकुश गौतमको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयकी सञ्चालक सदस्य तथा झापाली गायिका पवित्रा ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्माले शुभकामना मन्तव्य दिनुभएको कार्यक्रममा साहित्यकार कृष्ण सुवेदी ‘निराकार’ले गीतकार तायलको जीवनी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री एवं उद्योगपति ओमप्रकाश सरावगी, संगीतकार तथा वाद्यवादक हरि पौडेल, साहित्यकार एवं नाट्यकर्मी टंक विकल्प काफ्ले, गायक तथा संगीतकार केशव पौडेल, साहित्यकार विवश बलिभद्र कोइराला, लिला अनमोल, अभागी थेगुवा, खगेन्द्रा खुशी तथा गायक निरज पोखरेललाई सम्मानपत्र, मायाको चिनो तथा दोसल्लासहित सम्मान गरिएको थियो ।
सम्मानित स्रष्टाहरूले कार्यक्रममा विभिन्न गीत, गजल तथा कविता प्रस्तुत गरेका थिए । यस्तै, खुशी सुवेदीले नृत्य, हरि पराजुलीले गजल तथा साहित्यकार देवीचरण भण्डारी र अनिता पौडेलले गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिका–५ का वडाध्यक्ष बन्धु कार्की, वडा नं. ९ का वडाध्यक्ष राम दाहाल, वडासदस्य मञ्जु राउतलगायतको उपस्थिति थियो । साहित्यकारहरू चिन्तामणि दाहाल, जयन्तीमणि, नवराज घिमिरे, मातृका प्रसाद संग्रौला, गायक तथा संगीतकार गोविन्द रहपाल, डिके सुब्बा, कलाकार सञ्जय शिवाकोटी, सञ्जय बागदास, व्यवसायी तथा उद्योगी दिपेश ढकाल, अशोक धानुका, सामाजिक अगुवा यादव भट्टराई, यादव पोखरेल, मोहित शर्मा, निलम गोयल, कमल संग्रौला, तारा अधिकारीलगायतको सहभागिता रहेको थियो ।
विमोचित नगरगीतको भिडियो ‘नवरत्न’ नामक युट्युब च्यानलमार्फत हेर्न सकिने जनाइएको छ । कार्यक्रमको सञ्चालन कृति राईले गर्नुभएको थियो ।






