काठमाडौं,
असोज १५ ।
यही शुक्रबार असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंगुल’को बुधबार काठमाडौंस्थित लोत्से मलको आईएनआई सिनेमाजमा प्रिमियर शो गरिएको छ । प्रिमियरमा चलचित्रका कलाकार तथा सिनेमाक्षेत्रका विभिन्न व्यक्तित्वसँगै घाइते जेन-जी नेपाल संस्थाका प्रतिनिधि तथा घाइते जेन-जीहरूको पनि उपस्थिति थियो । सो अवसरमा चलचित्रको टिमले घाइते जेन-जी नेपालका अध्यक्ष बादल राईसहित घाइते जेन-जीहरूलाई सम्मान गरेको थियो ।
चलचित्र हेरेपछि उपस्थित दर्शक तथा अतिथिबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो । समसामयिक राजनीतिक घटनाक्रम र त्यसले समाजमा पारेको प्रभावलाई कथाको आधार बनाइएको चलचित्रमा गत वर्ष भएको जेन-जी आन्दोलनको विषयलाई समेत समेटिएको छ ।
प्रिमियरमा सहभागी घाइते जेन-जीहरूले चलचित्र ‘चंगुल’ले आफूहरूलाई एक वर्षअघिका घटनाको स्मरण गराएको प्रतिक्रिया दिएका थिए ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । बालकलाकार रिम्शा कार्कीको समेत चलचित्रमा अभिनय छ ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको छ । देव महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गर्नुभएको हो ।
निर्माण पक्षका अनुसार चलचित्रबाट प्राप्त नाफाको केही हिस्सा घाइते जेन-जी नेपाललाई सहयोग गर्ने योजना छ । त्यस्तै, बाढीपीडितको सहयोगका लागि समेत चलचित्रको आम्दानीबाट केही रकम छुट्याउने निर्माण टिमले जनाएको छ ।






