‘१२ गाउँ २’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं,
असोज ८ ।

यही असोज ३० लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘१२ गाउँ २’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्टको निर्देशनमा बनेको यो चलचित्रको करिब दुई मिनेट लामो टिजरमा संवादभन्दा एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ ।

‘एक्सन प्याक्ड’ शैलीमा प्रस्तुत गरिएको टिजरमा गोलीबारी, किक र भिडन्तका दृश्यलाई प्रमुखताका साथ देखाइएको छ । यद्यपि, टिजरले फिल्मको कथावस्तुबारे भने धेरै जानकारी दिएको छैन । चलचित्रमा समावेश एक्सन दृश्य र द्वन्द्वको झलक प्रस्तुत गर्नु नै टिजरको मुख्य उद्देश्य देखिन्छ ।

विराज भट्टको भ्वाइस ओभरबाट सुरु हुने टिजरमा समीर भट्टका एक्सन दृश्यलाई विशेष प्राथमिकता दिइएको छ । टिजरको अर्को आकर्षक पक्ष भने विराज र समीरलाई एकसाथ देखाइएको दृश्य हो । उक्त दृश्यमा दुई शक्तिबीचको संघर्षलाई प्रस्तुत गर्दै युद्धको फैसला दुईमध्ये एकको अन्त्यबाट हुने संकेत गरिएको छ । यसले फिल्ममा विराज र समीरबीच नै मुख्य टकराव हुने सम्भावनातर्फ संकेत गर्छ ।

असोज ३० गतेदेखि प्रदर्शनमा आउने फिल्ममा विराज र समीरसँगै अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्यलगायत कलाकारको अभिनय रहेको छ । फिल्मकी निर्माता सरस्वती भट्ट हुन् ।

चलचित्रमा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा सन्तोष सरकारको लेखन रहेको छ । त्यस्तै, स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ भने कालाचरणको पार्श्व संगीत (बीजीएम) र गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ ।

‘१२ गाउँ २’ २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’को सिक्वेल हो । अघिल्लो फिल्मको सफलतापछि निर्माण गरिएको सिक्वेललाई पनि एक्सनप्रधान बनाइएको टिजरबाट देखिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार