‘फोटो खिचौँ न’ भन्दै कन्हैया-अञ्जना (भिडियोसहित)

काठमाडौं,
असोज ९ ।

वरिष्ठ गायक कन्हैया सिंह परियार र स्वर माधुरी अञ्जना गुरुङको स्वरमा रहेको नयाँ गीत ‘फोटो खिचौँ न’ सार्वजनिक भएको छ । सुमधुर स्वर र प्रेमिल भाव समेटिएको गीतको भिडियो कन्हैया सिंहको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत, निशान निष्कर्षको शब्द रचना तथा राजु कार्कीको सङ्गीत संयोजनमा तयार भएको गीतमा दिल समर्पण र सरमान श्रील्वागुन सङ्गीत सञ्चयक र प्रकाश मिश्रको सङ्गीत सम्पादन छ । गीत काठमाडौंस्थित अकोस्टिक स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।

‘स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार भएको भिडियोमा अभिषेक खड्का र लक्ष्मी थापा मगरसँगै गायकद्वय कन्हैया सिंह परियार र अञ्जना गुरुङको अभिनय छ । भिडियोको छायांकन करण चैसिरले गर्नुभएको हो भने दीपक विष्टले दृश्य सम्पादन तथा कलर गर्नुभएको छ ।

गीत-सङ्गीतसँगै भिडियोमा प्रस्तुत गरिएको कथानक र कलाकारको अभिनयले ‘फोटो खिचौँ न’लाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । कन्हैया र अञ्जनाको स्वर संयोजनले गीतलाई थप आकर्षक बनाएको छ ।

नेपाली गीत-सङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि सक्रिय कन्हैया सिंह परियार गायक तथा सङ्गीतकारका रूपमा परिचित हुनुहुन्छ । त्यस्तै, अञ्जना गुरुङ नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीत क्षेत्रमा स्थापित गायिकाका रूपमा परिचित हुनुहुन्छ । लामो समयदेखि सहकार्य गर्दै आएको यो जोडीले नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै पहिचानसमेत बनाएको छ । वरिष्ठ गायिका अञ्जना गुरुङलाई गत वर्ष मिलापले ‘स्वर माधुरी’ उपाधिसहित सम्मान अर्पण गरेको थियो । पछिल्लो गीत ‘फोटो खिचौँ न’मार्फत कन्हैया-अञ्जनाको स्वरमा फेरि एकपटक नेपाली श्रोतामाझ नयाँ साङ्गीतिक स्वाद प्रस्तुत भएको छ ।

साङ्गीतिक क्षेत्रमा पुर्‍याएको योगदानलाई सम्मान गर्ने उद्देश्यले कन्हैया सिंह परियार र अञ्जना गुरुङले ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समेत प्रदान गर्दै आउनुभएको छ । नेपाली गीत-सङ्गीतमा योगदान पुर्‍याएका विभिन्न स्रष्टा तथा कलाकारलाई सम्मान गर्दै आएको यो पुरस्कारले साङ्गीतिक क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । ‘कन्हैयाअञ्जना राष्ट्रिय संगीत पुरस्कारबाट गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०) लोकगायक रेशम थापा (२०८१) र गायक कमल विक ‘निर्मोही’ (२०८२) सम्मानित एवं पुरस्कृत भइसक्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार