काठमाडौं,
भदौ ७ ।
जनसवाल राष्ट्रिय दैनिकले प्रकाशनको २० वर्ष पूरा गरेको अवसरमा काठमाडौंमा विविध कार्यक्रमसहित २०औँ वार्षिकोत्सव मनाएको छ । समारोहमा मिडिया एलायन्स नेपालका अध्यक्ष तथा एभिन्युज टेलिभिजनका अध्यक्ष भास्करराज कर्णिकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष प्रवीण गुरुङ, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार, सञ्चारकर्मी, व्यवसायी तथा जनसवाल परिवारको सहभागिता थियो ।
कार्यक्रममा वक्ताहरूले बदलिँदो प्रविधि, डिजिटल सञ्चारको विस्तार तथा प्रिन्ट मिडियामाथि बढ्दो व्यावसायिक दबाबका बीच जनसवालले दुई दशकसम्म प्रकाशन यात्रा निरन्तरता दिनु उल्लेखनीय उपलब्धि भएको बताएका थिए । उनीहरूले जनसवालले श्रमिक, आमनागरिक, वैदेशिक रोजगार तथा प्रवासी नेपालीका सवाललाई प्राथमिकताका साथ उठाउँदै आएको भन्दै आगामी दिनमा अझ तथ्यपरक र खोजमूलक पत्रकारितामा जोड दिन सुझाव दिए ।
मिडिया एलायन्स नेपालका अध्यक्ष कर्णिकारले प्रिन्ट मिडियाले चुनौती सामना गरिरहेको अवस्थामा पनि जनसवालको निरन्तरता प्रशंसनीय रहेको बताउनुभयो । एनआरएनए आईसीसीका उपाध्यक्ष गुरुङले प्रवासी नेपालीका श्रम, सीप, संघर्ष, अधिकार, लगानी र समस्यालाई राष्ट्रिय बहससँग जोड्न जनसवालले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाल पत्रकार महासंघका महासचिव दाहालले जनसवाललाई ‘निमुखाको आवाज’ का रूपमा चित्रण गर्दै श्रमजीवी तथा आमनागरिकका सवाललाई निरन्तर प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जनसवालका अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेले दुई दशकको यात्रालाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पाठक, पत्रकार, सञ्चारकर्मी, लेखक, स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी, गैरआवासीय नेपाली तथा शुभेच्छुकको साझा उपलब्धिका रूपमा स्मरण गर्नुभयो । पाठकको विश्वास नै जनसवालको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा खोजमूलक, तथ्यपरक र जनहितमा आधारित पत्रकारितालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बगालेले छापा पत्रकारितासँगै डिजिटल उपस्थितिलाई सुदृढ गर्दै विश्वभर छरिएका नेपालीका समस्या, श्रम, सीप, लगानी, सामाजिक सुरक्षा र उपलब्धिलाई राष्ट्रिय बहससँग जोड्ने कामलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
केक काट्नुका साथै विविध सांगीतिक प्रस्तुति र शुभकामना आदानप्रदानसहित सम्पन्न समारोहमा सहभागी अतिथिहरूले जनसवालको २० वर्षे यात्रालाई नेपाली पत्रकारितामा निरन्तरता, संघर्ष र प्रतिबद्धताको उदाहरणका रूपमा चित्रण गर्दै २१औँ वर्षका लागि शुभकामना दिएका थिए ।







