नुवाकोटमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, स्पार्कललाई दुई उपाधि

नुवाकोट,
भदौ ७ ।

विद्यालयस्तरबाटै बालप्रतिभाको पहिचान र प्रस्फुटनसँगै मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटको पिपलटारमा जिल्लास्तरीय अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा भएको प्रतियोगिताको एकलतर्फ स्पार्कल इन्टरनेसनल स्कुल प्रथम भएको छ । प्रथम भएसँगै स्पार्कलले ११ हजार १११ रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ । गुडविल एकेडेमी द्वितीय, भूपेन्द्र मेमोरियल तृतीय र ग्लोबल मोन्टेश्वरी सान्त्वना भएका छन् । द्वितीय हुने गुडविलले ६ हजार ६६६ र तृतीय हुने भूपेन्द्र मेमोरियलले तीन हजार ३३३ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

युगलतर्फ पनि स्पार्कल एकेडेमी प्रथम भएको छ । प्रथम हुने स्पार्कलले १५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ । तादी भ्यु एकेडेमी द्वितीय हुँदै १० हजार, नेसनल बेथेल एकेडेमी तृतीय हुँदै पाँच हजार र ग्लोरी एकेडेमी सान्त्वना हुँदै दुई हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता तथा सहभागी विद्यालयका विद्यार्थीलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, कलाकार संघका सदस्य जीवन थापा, विदुर–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने र विदुर–१ का वडाध्यक्ष लेनिन रञ्जितलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले आकर्षक नृत्य प्रस्तुत गर्दै विजेता बनेका तथा प्रतियोगितामा सहभागी विद्यार्थी र विद्यालयलाई कला तथा संस्कृतिको संरक्षणमा निरन्तर सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले विद्यार्थीलाई आगामी दिनमा पनि यस्ता प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गर्दै कला, संस्कृति र मौलिकताको संरक्षण तथा प्रवद्र्धनका लागि अझ बृहत् कार्यक्रम आवश्यक रहेको बताउनुभयो । त्यसका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले कला, संस्कृति र नृत्य संरक्षणका लागि सञ्चालन गरिएको अभियान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थी, विद्यालय, समुदाय तथा आयोजकलाई प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले सुन्दरादेवी सन्देश साप्ताहिकले समाचार प्रकाशनमा मात्र सीमित नभई कला, संस्कृति, साहित्य तथा मौलिक परम्पराको संरक्षण र प्रवद्र्धनलाई सामाजिक दायित्वका रूपमा अघि बढाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले विद्यालय तहदेखि नै लोककला, लोकसंस्कृति, साहित्य, सिर्जनशीलता तथा विद्यार्थी प्रतिभा प्रस्फुटनसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

गुडविल एकेडेमीको परिसरमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा प्रतिनिधि, स्थानीय तथा राष्ट्रिय कलाकार, प्याब्सन नुवाकोट तथा विदुरका पदाधिकारी, कलाप्रेमी, शिक्षाप्रेमी र सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा गायक कृष्ण रेउले र दामोदर खतिवडालगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

प्रतियोगितामा निर्देशक तथा कोरियोग्राफर माधवराज खरेल र मोडल तथा कोरियोग्राफर सुनीता कुँवर निर्णायक रहनुभएको थियो । एकलतर्फ १६ विद्यालय र युगलतर्फ २२ विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

आयोजक समितिका संयोजक किरणप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तालाई मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने, विद्यार्थीमा लुकेर रहेका प्रतिभाको पहिचान गर्ने तथा उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । ‘मौलिक संस्कृति जोगाऔँ, नयाँ प्रतिभालाई अवसर दिऔँ र हाम्रो पहिचानलाई पुस्तौँसम्म जीवित राखौँ’ भन्ने उद्देश्यसहित सांस्कृतिक अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार