जोगिन्दरको हास्यव्यङ्ग्य प्रस्तुति ‘बालेन सरकार’ (भिडियोसहित)

काठमाडौं,
साउन २३ ।

लोकप्रिय हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले यस वर्षको गाईजात्रालाई लक्षित गर्दै ‘बालेन सरकार’ नामक हास्यव्यङ्ग्य प्रस्तुति सार्वजनिक गर्नुभएको छ । ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको प्रस्तुतिमा समसामयिक राजनीति, राजनीतिक दल तथा नेताका गतिविधिसँगै नेपाली समाजका प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । गत फागुन २१ गते भएको निर्वाचनलाई समेत उहाँले व्यङ्ग्यको विषय बनाउनुभएको छ ।

‘बालेन सरकार’मा रिजालकै लेखन, निर्देशन र प्रस्तुति रहेको छ । प्रस्तुतिमा झलकमान गन्धर्वको चर्चित गीत ‘आमाले सोध्लिन् नि’को प्यारोडीसमेत समावेश गरिएको छ । प्यारोडीमा गायक राजु परियारको स्वर, लोकराज अधिकारीको शब्द र अष्ट लामाको संगीत छ ।

विगत २३ वर्षदेखि निरन्तर गाईजात्रे प्रस्तुति दिँदै आउनुभएका रिजालले मनोरञ्जनसँगै सामाजिक चेतना प्रवाह गर्ने उद्देश्यले ‘बालेन सरकार’ ल्याएको बताउनुभयो । उहाँले गाईजात्रा हास्य कलाकारका लागि महान् उत्सव भए पनि यस्ता प्रस्तुतिको व्यावसायिकता नरहेको बताउनुभयो ।
रिजालको यो २३औँ गाईजात्रे कोसेली हो । गत वर्ष उहाँले ‘मिस चौरासी’ सार्वजनिक गर्नुभएको थियो । विसं २०६१ देखि हरेक वर्ष गाईजात्राका अवसरमा हास्यव्यङ्ग्य प्रस्तुति दिँदै आउनुभएका रिजालले गाईजात्रामा प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्मजस्तै भएको सुनाउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार