काठमाडौं,
साउन २३ ।
लोकप्रिय गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम आगामी भदौ २० गते काठमाडौंको बाँसबारीस्थित रमालय भेन्युमा आयोजना हुने भएको छ ।
साधना कला केन्द्र र नेपाल सांगीतिक संघको आयोजनामा हुने ‘तीजको रहर आयो बरिलै’ नामक तीज विशेष कार्यक्रममा झाले आफ्ना डेढ दर्जनभन्दा बढी लोकप्रिय तथा कालजयी गीत प्रस्तुत गर्नुहुनेछ ।
कार्यक्रम दुई चरणमा हुनेछ । दिउँसो ३ देखि साँझ ५ः३० बजेसम्म तीज उत्सव तथा खुला सांगीतिक कार्यक्रम हुनेछ भने साँझ ६ः३० देखि ८ः३० बजेसम्म मुख्य हलमा विशेष सांगीतिक साँझ आयोजना गरिने आयोजक साधना कला केन्द्रका अध्यक्ष तथा वरिष्ठ संगीतकार मिलन मोक्तानले जानकारी दिनुभयो ।
विशेष सांगीतिक साँझमा दीपा नारायणलाई प्रकाश सपुत, प्रदीपराज पाण्डे, सञ्जय तुम्रुक र रूपक चौधरीले गायनमा साथ दिनुहुनेछ । दिउँसोको कार्यक्रममा पनि साजन लामा, सञ्जय तुम्रुक र रूपक चौधरीको प्रस्तुति रहनेछ ।
दिउँसोको कार्यक्रमका लागि टिकट मूल्य एक हजार पाँचसय रुपैयाँ तोकिएको छ । मुख्य सांगीतिक साँझका लागि अग्रिम टेबल, सोफा तथा सिटको टिकट बिक्री गरिने आयोजकले जनाएको छ ।







