काठमाडौं,
साउन १४ ।
आगामी भदौ २६ मा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रमा समावेश पहिलो गीतको भिडियो सार्वजनिक गरेको हो । समीक्षा अधिकारीले गाएको गीतलाई सुरेन्द्र रानाले लेख्नुभएको हो । यस गीतमा कर्णराज गिरीले संगीत भर्नुभएको छ ।
लोकलयमा आधारित गीतमा चलचित्रका मुख्य अभिनेत्रीद्वय न्यान्सी खड्का र रिस्ता अधिकारीले नृत्य गर्नुभएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई विनयराज पौडेलले निर्देशन गर्नुभएको हो ।
चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्का लगायतका कलाकारको अभिनय छ । यस चलचित्रको बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहनुभएको छ ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रको प्रस्तुतकर्ता सोनी थापा (ढुंगाना) हुनुहुन्छ । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहनुभएको छ ।
चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेख्नुभएको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पार्नुभएको हो ।







