काठमाडौं,
साउन ११ ।
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुला ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२’ मा खोटाङका कवि शुभचन्द्र राई प्रथम हुनुभएको छ । प्रतियोगितामा मकवानपुरका कवि तुलसी घिमिरे द्वितीय तथा भरतपुरका कवि परिवेश मुन्द्रे तृतीय हुनुभएको छ । त्यसैगरी सिन्धुलीका कवि रमेश दाहाल र काठमाडौंकी कवि संगीता खरेल उत्कृष्ट दुईमा छनोट हुनुभएको छ ।
संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा गठित निर्णायक समितिले प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, द्वितीय हुनेलाई २० हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट २५ कविलाई पनि प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगिताका लागि प्राप्त १०८ कवितामध्ये यसअघि उत्कृष्ट २५ कविता छनोट गरी सार्वजनिक गरिएको थियो । प्रतियोगितामा समसामयिक विषयमा आधारित, अप्रकाशित तथा ४० वर्षमुनिका स्रष्टाले लेखेका कविता मात्र समावेश गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरस्कार रकम अमेरिकामा बसोवास गर्दै आउनुभएकी समाजसेवी सपना राउतले प्रायोजन गर्नुभएको हो । संघले कविता बुझाउने अन्तिम म्याद २०८२ साल पुस मसान्तसम्म तोकेको थियो । साहित्यिक पत्रकार संघले यसअघि निबन्ध प्रतियोगितासमेत आयोजना गरिसकेको छ ।






