छिन्नलता गीत पुरस्कारबाट स्रष्टाहरू सम्मानित

काठमाडौं,
साउन १० ।

रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’बाट यस वर्ष वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टा सम्मानित हुनुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले पुरस्कार अर्पण गर्नुभएको हो ।

यस वर्षको ‘छिन्नलता गीत विशेष सम्मान-२०८२’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त सम्मानको राशि एक लाख रुपैयाँ रहेको छ । त्यसैगरी, गीत रचनातर्फ वरिष्ठ गीतकार डा. नवराज लम्साल, संगीत सिर्जनातर्फ संगीतकार किरण कँडेल तथा गायनतर्फ गायिका विमला राईलाई जनही एक लाख रुपैयाँ राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरिएको छ ।

त्यस्तै, गायिका सारिका घिमिरे ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित हुनुभएको छ । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । गुठीकी संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले सर्जकलाई नगद राशि प्रदान गर्नुभएको थियो ।

पुरस्कार ग्रहणपछि गीतकार डा. नवराज लम्सालले गीत सभ्यताको अभिन्न हिस्सा भएको उल्लेख गर्दै आफ्ना सिर्जनालाई संगीत र स्वरमार्फत जीवन्त बनाइदिने संगीतकार तथा गायक-गायिकाप्रति आभार व्यक्त गर्नुभयो ।

समारोहमा गुठीका सचिव तथा साहित्यकार दिनेश अधिकारीले नेपाली गीत-संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका गीतकार, संगीतकार तथा गायक-गायिकालाई गुठीले २०३९ सालदेखि सम्मान गर्दै आएको जानकारी दिनुभयो ।

गुठीका अनुसार हालसम्म ४० जना गीतकार, ३९ जना संगीतकार, ४१ जना गायक-गायिका तथा ४१ जना युवा प्रतिभा यस पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंहले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा पुरस्कृत गायिका विमला राई र सारिका घिमिरेले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

यसअघि नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, कोइलीदेवी माथेमा, गोपाल योञ्जन, दीप श्रेष्ठ, भक्तराज आचार्य, कृष्णहरि बराल, दिनेश अधिकारी र वसन्त चौधरीलगायतका स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’बाट सम्मानित भइसक्नु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार