वैरागी काइँलालाई ६ लाख राशिको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’

काठमाडौं,
साउन ११ ।

वरिष्ठ साहित्यकार, कवि तथा मुन्धुम संस्कृतिविद् वैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई ६ लाख रुपैयाँ राशिको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गरिएको छ । विश्व भुटानी साहित्य संगठन (विभूसास) को छैटौं अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठानले नेदरल्याण्ड्सको द हेगबाट घोषणा गरेको उक्त पुरस्कार शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण सभाहलमा आयोजित समारोहमा समर्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि वरिष्ठ समालोचक प्राडा. वासुदेव त्रिपाठीले पुरस्कार वितरण गर्दै वैरागी काइँलाको नेपाली साहित्य, मुन्धुम अध्ययन, भाषा-संस्कृति तथा आदिवासी ज्ञान-परम्पराको संरक्षणमा रहेको योगदानको प्रशंसा गर्नुभयो ।

स्वीकारोक्ति फाउण्डेशनका अध्यक्ष डेन्जोम साम्पाङ राईले दीर्घकालीन साहित्यिक, सांस्कृतिक तथा अनुसन्धानमूलक योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको बताउनुभयो । फाउण्डेशनका साहित्य तथा प्रकाशन विभाग प्रमुख दीपा राई पुनले वैरागी काइँलाको योगदानले नेपाली साहित्यलाई समृद्ध बनाउनुका साथै भावी पुस्ताका लागि मौलिक बौद्धिक आधार निर्माण गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा साहित्यकार विप्लव प्रतीकले वैरागी काइँलाको सिर्जना र योगदानलाई आधुनिक नेपाली साहित्यको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ‘स्वीकारोक्ति दर्शन’ बारे पनि आफ्नो धारणा राख्नुभएको थियो । समारोहमा ‘नेपाली साहित्य र संस्कृतिका झलकहरू’ पुस्तकको विवोचन, सम्मानपत्र वितरण तथा विभिन्न देशका साहित्यकार र अनुसन्धानकर्ताको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार