काठमाडौं,
जेठ १४ ।
आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले मुख्य पात्रको जीवनकथा प्रस्तुत गर्दै चलचित्रको कथावस्तु र भावनात्मक पक्षलाई उजागर गरेको छ ।
टिजरमा आमाले छोरीको सुखद परिवार बसाल्न गरेको प्रयास, विवाहपछि छोरीले भोग्नुपरेको पीडा तथा श्रीमान्को असामान्य व्यवहारका कारण उत्पन्न पारिवारिक तनावलाई देखाइएको छ । पढाइप्रतिको चाहना हुँदाहुँदै कम उमेरमै विवाह गर्न बाध्य भएकी युवतीले आफूले सोचेभन्दा फरक स्वभावको श्रीमान् पाएपछि भोग्नुपरेको संघर्षलाई टिजरले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
टिजरमा जन्म दिने आमाको माया र कर्म दिने आमाको कठोर व्यवहारबीचको अन्तरलाई समेत चित्रण गरिएको छ । एउटै गलत निर्णयले जीवन कसरी तहसनहस हुन सक्छ भन्ने सन्देश दिन खोजिएको टिजरले दर्शकलाई भावुक बनाउने देखिन्छ ।
चलचित्रमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । अरुणको असामान्य व्यवहार र सिम्रनको संघर्षपूर्ण जीवनकथाले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।
डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली लगातका कलाकारको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गर्नुभएको छ ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले गर्नुभएको हो ।
निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुनुहुन्छ । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहनुभएको भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा हुनुहुन्छ ।
चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीको छ । चलचित्रलाई हरि हुमागाईंले छायांकन गर्नुभएको हो भने सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशकका रूपमा हुनुहुन्छ । मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी छ ।
चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
उल्लेखनीय रूपमा ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । उक्त चलचित्रले प्रदर्शनको ५१औँ दिनसमेत मनाएको थियो । अहिले सोही नाममा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गर्नुभएको हो ।






