आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं,
साउन ९ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आजदेखि घर-घरमा तुलसीको विशेष पूजा-आराधना तथा चतुर्मासा व्रत सुरु भएको छ । परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको दल आज तुलसीको मोठमा सारेर विधिपूर्वक पूजा गर्ने चलन रहेको छ ।

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ । हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म चार महिनासम्म तुलसीको विशेष पूजा तथा भगवान् विष्णुको आराधना गरिन्छ ।

धार्मिक मान्यताअनुसार वर्षभरिमा २४ वटा एकादशी पर्छन् । सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासाका आठ एकादशीमा व्रत गर्ने तथा अझ व्यस्त रहनेहरूले हरिशयनी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने परम्परा रहेको छ ।

हरिशयनी एकादशीका अवसरमा राजधानीको बुढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ । यस दिन चामलबाट बनेका परिकार नखाई फलफूल, रोटी, ढिँडोलगायतका फलाहारी भोजन गर्ने चलन छ ।

तुलसी धार्मिक महत्त्वसँगै औषधीय गुणले पनि महत्वपूर्ण मानिन्छ। वैज्ञानिक अध्ययनहरूले तुलसीले वातावरण शुद्ध बनाउन तथा विभिन्न स्वास्थ्य लाभ प्रदान गर्न सहयोग गर्ने देखाएका छन् । साथै तुलसी रोपिएको स्थानमा सकारात्मक वातावरण कायम रहने धार्मिक विश्वास पनि रहेको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग विवाह गराउने वैदिक परम्परा छ । तुलसी विवाहपछि हवनसहित चतुर्मासा व्रतको उद्यापन गरिने धार्मिक विधि रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार