काठमाडौं,
कात्तिक २३ ।
चलचित्र ‘प्रतिवैरम’को छायांकन सम्पन्न भएको छ । रोशन दासको निर्देशनमा निर्माण भएको यो चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको हो । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रको पहिलो चरणको छायांकन १५ दिन सर्लाहीमा गरिएको थियो भने दोस्रो चरणको छायांकन ३० दिन सिराहामा सम्पन्न गरिएको हो । चलचित्रको छायांकन निर्देशक अफ फोटोग्राफी (डिओपी) ज्याकले गर्नुभएको हो । यस चलचित्रमा सम्राट दास, वीरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा शर्मा, गीताश्री, अशिष डिके, प्रदीप ढकाल, नारायण विके, बिके शाह, रामेश बुढाथोकीलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रमा सह-निर्देशकका रूपमा सन्तोष मल्ल, अग्नि सुवेदी, धीरज राउत, र श्रीजना भुजेल रहनुभएको छ । रेज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार रहनुभएको छ भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हाल्नुभएको छ ।
निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र समस्यालाई यथार्थ ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको हो । चलचित्रको कथा निर्देशक दास स्वयंको रहेको छ भने पटकथा युवराज भट्टराईले लख्नुभएको हो ।






