काठमाडौं,
कात्तिक १६ ।
नेपाली कला, संस्कृति र संगीत क्षेत्रको उत्थान र प्रवद्र्धनका लागि निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि. द्वारा आयोजित ‘जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१’ अब आगामी कात्तिक २६ गते, बुधबार, नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौंमा भव्य रूपमा आयोजना हुनेभएको छ । यसअघि यो कार्यक्रम भदौ ३० गते, सोमबारका दिन हुने तय गरिएको थियो । ‘जेन-जी’ आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, आयोजकले उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, जिनियस म्युजिक अवार्डले नेपाली कला, भाषा र संगीत क्षेत्रको उत्थान र नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर हरेक वर्ष यो प्रतिष्ठित अवार्ड समारोह आयोजना गर्दै आएको छ । २०७६ सालमा पहिलो पटक आयोजना गरिएको ‘जिनियस म्युजिक अवार्ड’ अहिले आफ्नो छैटौं संस्करणमा पुगेको छ । विगत पाँच वर्षमा सयौं कलाकार, स्रष्टा र व्यक्तित्वहरूले यस अवार्डबाट सम्मान र प्रोत्साहन प्राप्त गरिसकेका छन् ।
अवार्डमा नेपाली कला, संस्कृति र संगीत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका एक विशिष्ट व्यक्तिलाई ‘दीर्घसाधना सम्मान’ द्वारा सम्मान गरिने आयोजकले जनाएको छ । साथै, नेपाली कला, संस्कृति र संगीत क्षेत्रका विशिष्ट स्रष्टा, कलाकार, पत्रकार, पर्यटन व्यवसायी र समाजसेवीहरूलाई अवार्ड र सम्मान प्रदान गरिनेछ । कार्यक्रममा चर्चित र लोकप्रिय कलाकारहरूको विविध सांगीतिक प्रस्तुति तथा विशेष सांस्कृतिक आकर्षणहरू पनि रहनेछन् । ‘हामी नेपाली गीत-संगीत, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान दिन चाहन्छौं ।
यो अवार्ड कार्यक्रम केवल सम्मानको मञ्च होइन, नेपाली संगीतकर्मीहरूको साझा उत्सव हो’, आयोजक संस्थाका अध्यक्ष रमेश पाठकले बताउनुभयो । कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ, र संस्थाले अवार्डलाई अझ भव्य, मर्यादित र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।






