काठमाडौं,
असार २९ ।
चलचित्र ‘एक्का तीन’को मुख्य भूमिकामा अभिनेत्री पूजा शर्मा देखिनुहुने भएको छ । गतवर्ष चलचित्र ‘दान्भी’ निर्देशन गर्नुभएका रूपेश तामाङले यो चलचित्रलाई सन् २०२६ मा प्रदर्शन गर्ने तयारीसाथ निर्माण प्रक्रिया अगाडि बढाउनुभएको हो ।
चलचित्रको सार्वजनिक थिम पोष्टरमा हेलिकप्टर, विष्फोट र तीन पात्रको उपस्थितिसँगै यसले एक्सन र सस्पेन्स जनरामा आधारित हुने संकेत गरेको छ । पोष्टरमा देखिएका तीन पात्रमध्ये दुई पुरुष र एक महिला छन् । तीमध्ये अभिनेत्री पूजा शर्माको भूमिका पक्का भइसकेको निर्माण पक्षले जनाएको छ । अन्य कलाकारको नाम हालसम्म सार्वजनिक गरिएको छैन ।
जुना फिल्म्सको ब्यानरमा निर्माण हुनलागेको ‘एक्का तीन-च्याप्टर १’ शीर्षकले यस चलचित्रको सिक्वेल पनि बन्ने संकेत दिएको छ । चलचित्रको कथा सुमन गजमेरले लेख्नुभएको हो । निर्देशक तामाङले यसपटक बलियो कथा, आकर्षक एक्सन र गहिरो सस्पेन्स प्रस्तुत गर्ने बताउनुभयो । हाल फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा चलिरहेको छ भने छायांकन चाँडै सुरु हुने निर्माण टिमले जनाएको छ ।






