‘ऊनको स्वीटर’ को कीर्तिमानः सबै गीत करोड क्लबमा

काठमाडौं,
असार १ ।

चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । शनिबार प्रदर्शनको ३७औं दिनमा पनि सफलताका साथ चलिरहेको यस चलचित्रका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् ।

सांगीतिक पक्षले पाएको यो अभूतपूर्व सफलतासँगै ‘ऊनको स्वीटर’को म्युजिक एल्बम नै सुपरहिट सावित भएको छ । हालै ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि एक करोड भ्यूज कटाएसँगै यो गौरवपूर्ण माइलस्टोन हासिल भएको हो । शनिबार दिउँसोसम्म ‘फूलहरू मुस्काउँछन्’ दुई करोड १० लाख (२१ मिलियन) भ्यूज, ‘मखमली’ एक करोड ३० लाख (१३ मिलियन) भ्यूज, ‘काफ्ले’ एक करोड ३० लाख (१३ मिलियन) भ्यूज र ‘चाइनेजो जिन्दगानीमा’ले एक करोड (१० मिलियन) भ्यूज प्राप्त गरेका छन् ।

यस सफलताप्रति आर्टमाण्डु परिवारले दर्शक तथा श्रोताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । ‘नेपाली चलचित्रले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरूप्रति कृतज्ञ छौं,’ आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ । यो सफलताले आगामी दिनका लागि थप सकारात्मक दबाब र चुनौती थपेको पनि आर्टमाण्डुले जनाएको छ । चलचित्रका निर्देशक नवीन चौहानले भविष्यमा पनि यस्तै मिहिनेतका साथ राम्रा चलचित्रहरू निर्माण गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘ऊनको स्वीटर’ विसं २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल भइसकेको छ । यो चलचित्र हाल नेपालभरका दर्जनौं हलहरू तथा अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायत देशहरूमा यसको प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनिल पोखरेललगायत कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार