काठमाडौं,
माघ २७ ।
सिक्किमकी अञ्जना नाल्बो लिम्बूले बरिष्ठ कलाकार एवं गीतकार उत्तम केसी नेपालका दुई गीत गाउनुभएको छ । सिंगिङ रियालीटी सो ‘याक्थुङ स्टार’ गायन प्रतियोगिताको उपाधि विजेता अञ्जनाले केसीका दुई गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया…’ र ‘विपनीमा टुंगियो माया…’ गाउनुभएको हो । गायक राजेश पायल राई र शाहील लिम्बुसँग पनि केही दिन अघि गीत रकेर्ड गर्नुभएकी उहाँले उत्तम केसी नेपालका एक साथ दुई गीत गाउनुभएको हो ।
उत्तम केसीका गीत उहाँले शुक्रबार काठमाडौंको मेलोडी स्टुडियोमा रेकर्ड गर्नुभएको हो । गीतमा वरिष्ठ संगीतकार अष्टलामा र पुस्कार सुनुवारको संगीत रहेको छ भने रेकर्डडिष्ट विप्लव अधिकारी हुनुहुन्छ । मीठो स्वरकी धनी अञ्जनाले केसीका शब्दले आफू प्रभावित भएर गीत गाएको बताउनुभयो ।
‘विपनीमा टुंगियो माया…’ यसअघि मेल भर्सनमा राज सिग्देलको स्वरमा रेकर्डिङ भइसकेको छ र अब फिमेल भर्सनमा अञ्जनाको स्वरमा पनि आउने केसीले जानकारी दिनुभयो ।
कला क्षेत्रमा आफ्नै उचाइ चुम्नु भएका केसी गीत लेखन र कथा लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’ जस्ता एक दर्जन जति गीत श्रोता/दर्शकमाझ रहेका छन् ।






