काठमाडौं,
कार्तिक २० ।
यही शुक्रबारदेखि देशभरका सिनेमा घरमा आउने तयारी गरेको चलचित्र ‘सकस’को आइटम गीत ‘शिला गजब छ’ भन्दै आएकी छन् प्रिया रिजाल । अभिनयबाट केही समय ओझेल परेकी अभिनेत्री प्रिया रिजाल फेरि अभिनयमा देखिएकी हुन् ।
केशव जोशी ‘आकाश’को शब्द तथा जुनु रिजालको स्वर रहेको ‘शिला गजब छ’ गीतमा चेतन सापकोटाले सङ्गीत दिएका छन् । गीतमा प्रियाका अलवा अभिनेता सुन्दर श्रेष्ठ, प्रज्वल गिरीलगायतका कलाकार माथी फिचरिङ गरिएको छ ।
दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डाँगी हुन् । हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको सङ्गीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन चलचित्रमा रहेको छ ।
राजधानीमा हुने गरेको गुण्डागर्दीको कथावस्तुमा आधारित यो चलचित्र एनवी महर्जनले निर्देशन गरेका हुन् । विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, प्रज्वल गिरी, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राईलगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ ।






