काठमाडौं,
साउन ८ ।
शिव कैलाश कला मन्दिर प्रालिको २५औं स्थापना दिवसको अवसरमा आयोजित ‘ह्विज किड्स नेपाल कल्चरल डान्स शो-२०८३’ (पाँचौं संस्करण) सम्पन्न भएको छ । कार्यक्रममा २२ विद्यालयका करिब ३०० विद्यार्थीले २३ वटा विभिन्न जातीय तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । पाँचदेखि छ वर्ष उमेर समूहका बालबालिकाले नेपाली कला, संस्कृति र भेषभूषालाई नृत्यमार्फत प्रस्तुत गरेका थिए । आयोजकका अनुसार साना बालबालिकालाई नेपाली कला-संस्कृतिसँग परिचित गराउँदै यसको संरक्षण र प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो ।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ रहनुभएको थियो भने नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यालयका प्रतिनिधि, नृत्य प्रशिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो ।
शिव कैलाश कला मन्दिरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न विद्यालय, प्रायोजक संस्था, सञ्चारमाध्यम तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेको छ । कार्यक्रमको सञ्चालन युनिसा रिजालले गर्नुभएको थियो ।






