लोकप्रिय कलाकार जयनन्द लामाको निधन

काठमाडौं,
फागुन ११ ।

लोकप्रिय कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको बुधबार बिहान निधन भएको हो । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय लामा नेपाली चलचित्रको अभिनयमासमेत सक्रिय हुनुहुन्थ्यो ।  केही दिन अघिमात्र उहाँको स्वरको एउटा नयाँ लोक गीत सार्वजनिक भएको थियो ।

पाँच दशकअघि गायन यात्रा सुरू गर्नुभएको लामा ख्यातिप्राप्त लोकगायक, सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक हुनुहुन्थ्यो ।

उहाँले चलचित्र ‘मनको बाँध’, ‘छक्कापञ्जा’लगायत चलचित्रहरुमा अभिनय गर्नुभएको छ भने पछिल्लो समय हाँस्य टेलीश्रृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आउनु भएको थियो ।

उहाँका ‘कलकत्ते काइँयो’, ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘मुलाको चाना’, ‘सलल पानी’लगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

उहाँ सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुनुहुन्थ्यो। कलाकार लामाको निधनप्रति विभिन्न कलाकारले सामाजिक सञ्जालमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार