काठमाडौं,
मंसिर १७ ।
नारी साहित्यकारहरूको संस्था गुञ्जनको २४औं वार्षिकोत्सवको अवसरमा विभिन्नस साहित्यकारलाई सम्मान गरिएको छ । साहित्यकारहरू अनुपम रोशी, हेमन्ती केवरत, रोचक घिमिरे तथा गीता केशरीलाई कार्यक्रममा पुरस्कृत तथा सम्मान गरिएको हो ।
गुञ्जनले २०७८ सालको ‘गुञ्जन प्रतिभा पुरस्कार’ स्रष्टा अनुपम रोशीलाई प्रदान गर्यो । १५ हजार नगद राशीसहित उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै ‘गुञ्जन बहुभाषिक सम्मान’ हेमन्ती केवरतलाई १० हजार राशीसहित प्रदान गरियो । वार्षिकोत्सवका अवसरमा ‘गुञ्जन साहित्य पुरस्कार’ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरियो । उक्त पुरस्कारकासाथ १० हजार नगद राशी प्रदान गरियो ।
कार्यक्रममा गुञ्जनकी संस्थापक आख्यानकार गीता केशरीलाई ‘गुञ्जन ज्येष्ठ नागरिक सम्मान’ प्रदान गरियो । उक्त सम्मानकासाथ पाँच हजार नगद राशी प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान अर्पण गर्नुभयो । सोही अवसरमा उनले साहित्यकार हिरण्यकुमारी पाठकद्वारा लिखित नियात्रासंग्रह ‘पाइला पाइलामा उमंग’ पनि लोकार्पण गरे । कार्यक्रममा गुञ्जन स्मारिकाको पनि विमोचन गरियो ।






