काठमाडौं,
मंसिर १५ ।
गायक तथा सङ्गीतकार नवीन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार दिइने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम-सरिता पाठक फाउन्डेसनले प्रदान गर्ने एक हजार डलर राशिको उक्त पुरस्कार सङ्गीतकार पौडेललाई प्रदान गर्ने निर्णय गरिएको हो ।
अमेरिकाको टेक्सासमा स्थापित हेम-सरिता पाठक प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कार उत्कृष्ट शब्दको लागि पौडेललाई पुरस्कार प्रदान गरिने भएको हो ।
यसअघि पनि एक हजार डलरको भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता र दुई हजार अमेरिकी डलर राशिको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार २०७७ घोषणा भइसकेका छन् ।
प्रतिष्ठानले सङ्गीतका अलावा पत्रकारिता र साहित्यमा पुरस्कारहरू प्रदान गर्दै आएको छ । यस्तै, नेपालमा स्कुल सञ्चालन, विपन्नवर्गको लागि घर निर्माण र आयमूलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।
यसैगरी, प्रतिष्ठानले झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ । तीनवटै पुरस्कार काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने बताइएको छ ।






