काठमाडौं,
मंसिर ६ ।
नेपाली कला संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवद्र्धनको लागि डीएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगिता सहितको सांस्कृतिक मौलिक मेला)को आयोजना गर्नेभएको छ । विभिन्न जिल्लाको स्थानिय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउनेगरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ ।
आयोजक संस्था डीएआर मुभिजले यसअघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । ०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाख भन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।
यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगिता सहितको सांस्कृतिक मौलिक मेला) को दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक कमिटिको अनुमान छ । चैत्र दोस्रो हप्ता हुने कार्यक्रम टुँडिखेलमा दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।






