काठमाडौं,
मसिंर १ ।
इलाममा पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना हुने भएको छ । यही मंसिर १८ र १९ गते इलाममा साहित्यिक पत्रकार संघ, काठमाडौं र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको हो ।
दुई दिवशीय सो सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारहरूको उपस्थिति रहने बताइएको छ । साहित्यिक पत्रकार संघ र इलाम नगरपालिकाले विसं २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो । जसमा भूपि शेरचन, केशवराज पिडाली, शंकर कोइरालालगायतका स्रष्टाहरूको विशेष उपस्थिति रहेको थियो । यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने र इलामको पर्यटनमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
सम्मेनलनमा कार्यपत्रहरू प्रस्तुति, पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीसँग साक्षात्कार, साँस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, कवि सम्मेलन तथा इलाममा पर्यटकीयस्थलहरूको प्रदर्शनीलगायतका कार्यक्रमहरू हुने जनाइएको छ ।
इलाम नगरपालिकाले हालै स्रष्टापार्कको निर्माण गरिसकेको छ । भौतिक उपलब्धिमा अग्रस्थानमा रहेको इलाम नगरपालिका साहित्यिक र सास्कृतिक विकासको लागि साहित्य, कला, सङ्गीत प्रतिष्ठानको स्थापना गरेर काम गर्दै आएको छ । यस्तै इलामको पर्यटन विकासको लागि पनि इलाम नगर पर्यटन सरोकार समितिमार्फत काम गर्दै आएको छ ।
इलाम अहिले आन्तरिक पर्यटकहरूको गन्तव्यस्थल बन्दै गएको छ । सम्मेलनमा सहभागी स्रष्टाहरूले सम्मेलनको अवसरमा विभिन्न पर्यटकीयस्थलहरूको भ्रमण पनि गर्नेछन् । यस सम्मेलनमार्फत इलामको पर्यटन र साहित्यको अझ प्रचार हुने पनि विश्वास लिइएको छ ।
साहित्य, कला, सङ्गीत प्रतिष्ठानले इलाममा पारिजातको प्रतिमा स्थापना, अरनिको सांस्कृतिक सङग्राहालयको व्यवस्थापन र सञ्चालन, वरिष्ठ सङ्गीतकार कोमल निरौलाको राष्ट्रिय गीतको म्युजिक भिडियो निर्माण, चर्चित साहित्यकार विष्णु नवीनको अप्रकाशित तीन कृतिहरूको प्रकाशन, वरिष्ठ इतिहासविद एवम् लेखक प्रा. युद्धप्रसाद बैद्यको ‘इलाम इतिहास र विकास’ कृतिको प्रकाशन र बालसाहित्यको कृति प्रकाशनलगायत विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिहरू गर्दै आएको छ ।






