पेशल आचार्य
रामेछाप, मन्थली
असोज ५ ।
सचेत छन् जनता
सक्षम पनि छन् जनता
अचेल
शिक्षित र पठित समेत छन् जनता
देशमा के भइरहेछ
त्यो सुन्न चाहन्छन्
देशमा के भइरहेछ
त्यो भन्न पनि चाहन्छन्
साँच्चै भनूँ भने अचेल
जनता जान्न चाहन्छन्,
जनतालाई एक दिन ढाँटिएला
जनतालाई दुई दिन ढाँटिएला
तर सधैँ ढाँट्न सकिँदैन
सधैँ छोप्न सकिँदैन
सहनशील छन् जनता
तर सहन जान्दैनन्
इमान्दार छन् जनता
तर इमान छाड्न मान्दैनन्
देशमा केही होस् या नहोस्
वाचाल भएर सुन्छन्
निचाल भएर गम्छन्
देशले तरक्की गरेको हेर्न चाहन्छन्
नेताले अग्रगामी विचार लिएको सुन्न चाहन्छन्
साँच्चै भन्ने हो भने
जनता अब जान्न चाहन्छन्,
कुनकुन पार्टी राष्ट्रवादी ?
कुनकुन पार्टी राष्ट्रघाती ?
मूल्याङ्कन पुनर्मूल्याङ्कन सब गर्न चहन्छन्
देखेर देशको हालत जनता
दुखित छन्
पीडित पनि छन्
नेताहरू लेता भएको थापाएका छन्
लिडरहरू क्रमशः डिलर भएको बुझेका छन्
कसैले सिकाउनु पर्दैन
स्वतः स्फूर्त सिक्छन्
क्रमैसँग जान्दछन्
देशको यो हालत देखेर
जनता जान्न चाहन्छन्,
अमेरिका किन अमेरिका भयो ?
सिङ्गापुर कसरी बन्यो ?
चाइनाले कसरी पिक अप लिँदैछ ?
भारत कसरी विकसित भनिँदैछ ?
यी सबै बुझेका छन्
यी सबै जानेका छन्
देशको नक्साका बारेमा
देशको अवस्थाका बारेमा
उद्योग, कलकारखाना
सडक, विद्युत्
एमसिसी र बिआरआई
सबैसबै बुझेका छन्
भलिभाँती जानेका छन्
थप विचार अपडेट गर्न
जनता अझ जान्न चाहन्छन्,
धमलाको अन्तर्वार्ता मात्र
जनताले चाहेका होइनन्
रविको चिरफार मात्र
जनताले मागेका होइनन्
यत्र तत्र सर्वत्र
जनता पारदर्शी चाहन्छन्
जनता खुला चाहन्छन्
छोपेर डोकाले शासक
यथास्थितिमा शासन गर्न चाहन्छ
तर भत्काएर दुर्गहरू
जनता जान्न चाहन्छन् ।।






