पेशल आचार्य
काठमाडौं,
भदौ ४ ।
मुढाजस्ता
हरेकदिनहरू धकेलेर
यो लामो यात्राको सफरमा
म तिम्रो छेउमा आइपुगेको छु
लाग्छ तिमी पनि
उहिले चिनेचिने जस्ता छौ
लाग्छ तिमी पनि
विगतमा जाने जाने जस्ता लाग्छौ
कता-कता देखेको हो कि भन्ने भान पनि छ
कता-कता चिनेको हो कि भन्ने शंका पनि छ
माया लाग्छ कटक्क भित्रदिलमा
आँखामा तिम्रा तस्वीरहरू झल्झली आइरहेछन्,
हो/होइन
छ/छैन
थियो/थिएन
भयो/भएन
रह्यो/रहेन
यस्ता अनेकन प्रलापहरू रहेका छन्
यावत् अनेकन दिवास्वप्नहरू पनि भएका छन्
यो दुनियाँ यस्तै छ
आफ्नाहरूलाई छाडेर
अर्काकाहरूलाई आफ्नो बनाउने चलन
कहिलेदेखि चल्यो ?
खै ! जति लाई सोधेँ
कसैले नि सपाट उत्तर दिएनन
कसैले नि सरल जवाफ फुकाएनन्
निनानसेकमा बुझेँ कि
आस गर्नु भनेको
मान्छे फकाउनु जस्तै हो
आस गर्नु भनेको
मान्छेलाई मनाउनु जस्तै हो,
जुन काम अति कठिन छ
जुन काम अति जटिल पनि छ ।।






