काठमाडौं,
असार २ ।
शनिबार थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८५८ पिसिआर परिक्षणका क्रममा एक हजार ३१० र तीन हजार २०८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ । शनिबारको संक्रमण दर १८.६२ प्रतिशत छ ।
शनिबार कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप दुई हजार १६४ संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ । पछिल्लो समय सक्रिय संक्रिमितको संख्या २५ हजार ९५२ छ । निको हुने दरमा वृद्धि भएसँगै शनिबार सक्रिय संक्रमितको संख्या घटेको छ । ३.९० प्रतिशत सक्रिय संक्रमित छन् ।
शनिबार काठमाडौं उपत्यकामा थप ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जनामा गरी कुल ४२८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार उपत्यकामा ५४१ जनामा संक्रमण पुष्टि भएको थियो ।






