ईटहरी,
चैत १६ ।
कोशी भिजनको ब्यानर र निर्माणमा चलचित्र ‘अभियान’ बन्ने भएको छ । चलचित्रका मुख्य कलाकार, प्राबिधिक, निर्माता, निर्देशक तथा चलचित्रकर्मिहरूको माझ सुनसरीको ईटहरीस्थित एक गुम्बामा चलचित्र ‘अभियान’ मुहर्त गरिएको छ । मुहर्त कार्यक्रममा चलचित्रकर्मी संघका प्रदेश १ संयोजक पर्शुराम चौधरी, नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानलगायत ब्याक्तित्वको उपस्थिति रहेको थियो ।
ऎतिहासिक तामाङ थाकथलो (किपट) को कथामा बन्ने चलचित्रको मुख्य भुमिकामा जयानन्द लामा, दिनेश कोईराला, कुमार मोक्तान, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, चादनी मोक्तान, आश्मान वाईवा तामाङ, नितेश जङ्ग खत्री, जनक बम्जन तामाङ, मदन राई, कुमारी मेयाङ्बो लगायतका कलाकारको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।
चलचित्र मंगलबारदेखी फ्लोरमा जाने भएको छ । चलचित्रको छायांकन रसुवा, काभ्रे, हिले, उत्तरपानी, मुडे संसरे र ईलाममा हुनेछ । चलचित्रलाई लेखन तथा निर्देशन लाखमान योन्जन तामाङले गर्दैछन् ।
लाखमानले बिगत लामो समयदेखि प्रदेश १ मै बसेर चलचित्र निर्माण, निर्देशन तथा कथा लेखनको कार्य गरिरहेका छन् । चलचित्रलाई सुमन तामाङले छायांकन गर्नेछन् भने सम्पादन हेमन तामाङको रहने छ । यस्तै चलचित्रमा दुई गीत समाबेश हुनेछन् । जसमा जोनी योन्जन, कुन्दन राई, छेवाङ योन्जन तामाङको सङ्गीत रहनेछ ।
गीतलाई सुरज रौनियारले गाउनेछन । यसअघि तामाङले पहिलो चलचित्र २०४९ मा तामाङ सस्कृतिमा आधारित ‘रिमठिम’ निर्माण गरेका थिए । यस्तै सगुन (पोङ) महायान बौद्ध धर्ममा आधारित ‘नाङसाल’सँगै नेपाली कथानक चलचित्र ‘मङोलियन हर्ट’, झरना थापालाई लिएर ‘झिल्के’, बुद्धि तामाङलाई लिएर ‘राम साईली’ निर्माण गरिसकेका छन् ।






