लघुकथा : कर्म र भाग्य

✍️ हेमराज अधिकारी
तुमिन, पूर्व सिक्किम
माघ २० ।

छुट्टीका दिनहरूमा आफ्नी आमाको अभाव ग्रस्त पाठशालामा ध्यान दिने गोपाल बाल्यकालदेखि नै तिखो र तेज थियो । उसले आफ्नो आमालाई कहिल्यै दुःख दिएन । स्कुले दिनहरूमा पनि आमाले भोग्दै आएका नितान्त नीजि जीवन र जिविकोपार्जनका कुरा र दृश्य उसको आँखामा नाचिरहन्थे । उसको बाबु कस्तो थियो गोपालले देखेन् तर आमाले उसको निमित्त गरेको संघर्ष, भुक्तमान, बगाएको पसिना र पुरुष सरह गर्नुपरेको लडाइँ उसको नजरमा नाचिरहन्थ्यो ।

आफ्नी आमालाई कसैले नराम्रो सोचे या गाली गलौच गरे उसको ज्यान लिन्छु भनेर जाइ लाग्थ्यो । श्वास विहिन मुर्तिको पूजा गर्नुभन्दा आफ्नै आमाको पूजा गर्थ्यो । सदियौंदेखि मुर्छा परेका चेतनहिन ढुङ्गालाई उसले कहिल्यै देउता मानेन । आफ्नो आमा भन्दा ठूलो ईश्वर देउता हुन्छ भन्ने कुरामा बिश्वास कहिल्यै गरेन पनि । बिछट्ट प्रवित्ती र विकसित बिचारले ओतप्रोत थियो गोपाल । छुट्टीका दिनहरूमा आमालाई डोकोमा ईटा भर्ने काम सघाउँथ्यो । सिमेन्टको बोरा सकिनसकी उचाल्दै आमाको डोकोमा घिसार्दै लगाउँथ्यो । बेल्चाले गिट्टी भरिदिन्थ्यो । बालुवा भर्ने काम गर्थ्यो ।

यो संघर्ष केवल आमाले उसको निमित्त गरेको बुझेको थियो । खाता किताब चाहियो भन्दा बढी कहिल्यै मागेन उसले । अरु साथिहरू जस्तो स–साना खर्च कहिल्यै गरेन उसले । स्कुलमा सबैले आफ्नो बाबु–बाबाको कुरा गर्दा आँखाभरी आँसु निकाल्थ्यो । बुझ्ने साथीहरूले अरु प्रसङ्ग बदल्थे । नबुझ्ने अबुझहरूले झनै बाबुको कुरा गर्थे । अरुको बाबुहरूले टुम्लेट, टिफिन, ब्याग, रेनिकोटसँग उसको साथिहरूलाई बोकेर स्कुल ल्याएको–लगेको देखेर बिचरा ट्वाल्ल परेर हेरिरहन्थ्यो ।

हेर्दाहेर्दै उसको आँखा रसाएर आउथ्यो । के बुझ्थ्यो, के बुझ्दैनथ्यो, आफनै बाटो लाग्थ्यो सुमुसुमु । आमालाई सोधपुछ गर्दा बाबा भगवानको घर जानुभएको छ भन्थिन् । राति आगनमा उभिएर शुक्र तारा देखाउदै त्यो ठूलो चमक–चमक गर्ने तारा तिम्रा बाबु हुन् भन्थिन आमा । नानीलाई ढोग गर्न लाएर सुम्सुम्याउदै सुताउँथिन उसलाई आमाले । कोही बखत आमाको पनि आँखा अश्रुपुर्ण हुने गर्थ्यो । उसले केही बुझ्न सकेको थिएन । उसको उमेर सानो थियो । ठूलो भएपछि कसरी भगवान्ले लानु भयो सुनाउछु भनेकी थिइन् आमाले । यसरीनै गोपालको जीवन चल्दै थियो ।

एकदिन साँझपख गोपालले आमालाई सोध्यो । ‘आमा अब म ठूलो भएको छु तपाईंले मलाई ठूलो भएपछि बाबा कसरी भगवानको घर जानुभयो भन्छु भन्नुभएको थियो आज भन्नुहोस् ।’ गोपालको कुरा सुन्यानसुने गर्दै आमाले अरु कुरा गर्दै कुरा टार्ने कोसिस गरिन । तर, कसैगर्दा गोपाल मानेन । आमाले भनिन् नानी तिमी सानै छौ अहिले यस्तो कुरा गर्नुहुँदैन । तिमीले खुबै पढ्नुपर्छ ठूलो मान्छे हुनुपर्छ अनि मात्रै यस्ता कुरा गर्नुपर्छ । तर, गोपाल मानेन । उसले स्कुलमा अरु सबैको बाबु आउछन् तर मेरो आउदैन, मलाई अतिनै दुःख लाग्छ, हाम्रो बाबा भगवान्को घर जानुभयो तर के भएर जानुभएको हो मलाई आज तपाईंले नभनेसम्म खानापिना केही खाँदिन भन्दै ढिपी गर्न थाल्यो ।

आमाले कति सम्झाउन खोज्दा पनि मानेन र अन्तमा हार खाएर सुनाउन बाध्य भइन । ‘नानी तिमी अहिले सानो छौ । तिमीले आफ्नो मनमा चिन्ता लिनु हुँदैन । तिम्रो बाबा म जस्तै अर्काको घर बनाउने, सिमेन्ट लगाउने काम गर्थे । हामी अर्काको घर ठेक्कामा लिन्थ्यौ । बनाउथ्यौ । जती बेसि काम गर्‍यो उती बेसि आम्दानी हुन्थ्यो । तिम्रा बाबु सिमेन्ट र काठपातको काम गर्थे । आधा रातसम्म खाइनखाइ खट्थे । पल्लो गाउँको बडा साह्बको घर ढलाई गर्नुथियो । हामी पन्ध्र दिनदेखि त्यहाँ काम गर्दैथियौं । बिहान् चार बजे उठेर साँझ छ बजेसम्म काम गर्थ्यौं । ढलाईको दिन थियो । दिनभर काम गर्‍यो । साँझ छ बजे तिम्रा बाबु ढलाईको छानो बाट चिप्लिएर झरे । मलाई खाना बनाउन पाँच बजेनै घरमा तिम्रा बाबुले पठाउनु भएको थियो । बाबा छतबाट झर्नु भएछ र उठ्नु भएन । मलाई अबेर खबर सुनाए । म जाँदा बाबालाई अस्पताल लगिसकेको रहेछ । हामी अस्पताल पुग्दा तिम्रा बाबु अघिनै बितिसक्नु भएछ…।’ भन्दै गोपालकी आमा मुर्छा परिन् । अतित बल्झिएर आयो । गोपालले रुँदै आमालाई उठायो । ‘आमा नरुनु । अब म तपाइँलाई कहिल्यै यस्तो कुरा सोध्ने छुइन । अर्काको महल बनाउने क्रममा हाम्रा बाबा शहीद हुनुभयो’ भन्दै गोपाल भक्कानियो । आमा छोरा दुवै खुब रोए । बिहानको उब्रेको बासी भात भुटेर राती अबेरमा नानीलाई दिदै भक्तमाया र छोरा गोपाल सुते ।

भोलिपल्ट बिहानै बडा साहबको घरमा गोपाल पुग्यो । आमालाई सोधपुछ नगरी गयो । गोपाल किन उसको घरमा गएको थियो कसैलाई थाहा भएन । गोपाल छक्क पर्‍यो । बडा साह्बको घरमा धेरै मान्छे भेला भएका थिए । बडा साह्बको घरमा रुवा बासी मच्चिदै थियो । बडा साह्बको एकमात्र छोरा थियो । राती गोटि खाएर छतमा फोनमा बोल्ने क्रममा छतबाट झरेर बितेछ । सबै मान्छेको आउजाउ भइरहेको थियो । गोपालले कुरा बुझ्यो । फेरि अर्को शहीद भएछ । बडा साह्बको बुढेसकालमा अब सहारा रहेन । सबै रुँदै थिए । वारिपारिका सबै मानिस आउदै जाँदै थिए ।

गोपाल कुद्दै घरमा गयो र आमालाई बडा साह्बको छोरा भगवानको घर गएको बतायो । गोपालकी आमालाई गोपालको कुरा सपना भए झैं लाग्यो । दुबै चकित भए । गोपालले भन्यो । मेरो बाबु के कारणले लडेका थिए भनेर म सोधपुछ गर्न जाँदा उल्टो यो घटना त्यहाँ राती घटेछ । ‘अब हाम्रो बाबा अन्धकारमा चम्के जस्तैः बडा साह्बको छोरा पनि चम्किने भयो हाम्रो बाबा जस्तै ।’ आमाले ‘चुप लाग त्यस्तो भन्नु हुँदैन’ भन्दै छोरालाई कराइन । दुबै बडा साह्बको घर लागे ।

मानिसहरू बाटोमा फर्किदै थिए । एउटाले बाटोमा भन्दै थियो ‘त्यो घर बनाउदा एउटा लेबर पनि त्यसरिनै झरेको थियो । बडा साह्बले कुन्नी त कस्तो हिसाब गर्थे । साँउ ब्याज दुवै ईश्वरले चुक्ता गरे जस्तो पो छ ।’ अर्कोले थप्यो ‘पक्का हो सही कुरा गरिस ।’ दुबै आमा छोरा चकित हुँदै कुरा नसुनेझैं गरी भित्तो समाउदै बडा साह्बको घर पुगे । मानिसहरूले बडा साह्बलाई सान्त्वना दिदै थिए ।

यसमा तपाइको मत

अन्य समाचार