काठमाडौं,
आश्विन २२ ।
बिहीबार थप चार हजार ३ सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा यससँगै कुल सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको जानकारी दिनुभयो । बिहीबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ८४ रहेको छ ।
थप दुई हजार ६ सय ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै ७१ हजार ३ सय ४३ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै बिहीबारसम्म ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ ।
देशभरका संस्थागत आइसोलेसन ११ हजार ७ सय १७ जना र होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना छन् भने चार हजार ४ सय ६० जना क्वारेन्टिनमा छन् । यस्तै देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने २ सय ६५ जना आईसीयूमा उपचाररत छन् ।
काठमाडौँ उपत्यकामा बिहीबार दुई हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या ३३ हजार ७ सय ७१ पुगेको छ । काठमाडौंमा २९ हजार ३ सय ७८, ललितपुरमा चार हजार ११ र भक्तपुरमा दुई हजार ९ सय १९ सङ्क्रमित पुगेका छन् ।
यस्तै बिहीबार इलाममा १२, उदयपुरमा ३२, ओखलढुङ्गामा चार, खोटाङमा चार, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा तीन, धनकुटामा तीन, पाँचथरमा दुई, भोजपुरमा चार, मोरङमा दुई सय ४९, सङ्खुवासभामा तीन, सोलुखुम्बुमा दुई, सुनसरीमा दुई सय १४, धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा सात, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४, सिरहामा ४८, काभ्रेमा २९, चितवनमा ६९, दोलखामा एक, धादिङमा ७१, नुवाकोटमा तीन, मकवानपुरमा एक सय पाँच, रामेछापमा पाँच, सिन्धुपाल्चोकमा १३, सिन्धुलीमा तीन, कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा २८, पर्वतमा एक, लमजुङमा तीन, बागलुङमा १२, स्याङजामा १३, अर्घाखाँचीमा २७, कपिलवस्तुमा सात, गुल्मीमा १८, दाङमा ५५, नवलपरासीमा २१, पाल्पामा २१, प्युठानमा एक, बर्दियामा १०, बाँकेमा ५७, रोल्पामा एक, रुपन्देहीका एक सय ९९, कालिकोटमा ६, जुम्लामा ६, डोल्पामा तीन, दैलेखमा चार, रुकुम पश्चिममा पाँच, सुर्खेतमा एक सय ६, हुम्लामा तीन, सल्यानमा चार, अछाममा १०, कञ्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा एक, डोटीमा सात, बझाङमा एक र बैतडीमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र आठ पुरुष रहेका छन् । सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका ७० वर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ वर्षीय पुरुष तथा ७९ वर्षीया महिला, ललितपुरकी ७३ वर्षीया महिला, भक्तपुरकी ८२ वर्षीया महिला, चितवनका ८१, ९१ र ८१ वर्षीय तीन पुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतकी ८२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५ सय ९० पुगेको छ ।






