✍️ हेमराज अधिकारी/तुमिन, पूर्व सिक्किम
‘यो बर्षा हिलो चिप्लोको महामारीमा यो तीज पनि किन आएको होला, पैसा न कौडी कसरी माइत दौडी ?’ खत्री माइलो रातभर निदाएन । घरमा खान लाउनको धौ-धौ परेको बेला खत्रीनीलाई छिटको साडी कहाँबाट ल्याउने होला ? यता पल्टियो उता पल्टियो अहँ निन्द्रा पटक्क परेन । घडीमा चार बज्नै लाग्दा स्वास्नी निदाएकै मौका छोपेर बिरालोको चालमा जुरुक्क उठी बाहिर निस्क्यो । ढोका हलुँगो गरेर तान्यो औ अँध्यारोमा विलीन भयो ।
आधा घन्टा पछी स्वास्नी ब्युँझी, हातले यसो ओछ्यान छाम्दा खत्री थिएन । झाडा पिसाबमा गए होलान् भन्ने सोच्दै खत्रीनी कोल्टे परेर सुती । एकबर्षे नानी थियो । नानीले ओछ्यानमै लुगामा आची गरेर रोएको सुन्दा मात्रै खत्रीनी ब्युँझी । उज्यालो हुनै लागेको थियो । छेउमा राखेको थाङ्नोले आची साफ गरि औ नानीलाई नयाँ उभानो ओछ्यानमा फेरि सुताएर बाहिर निस्की, तर खत्री कहीँ थिएन । आगनको पल्लो छेउमा शौचालय थियो तर त्यहाँ पनि खत्री थिएन । गाई गोठमासमेत खत्री नपाउदा खत्रीनीको मनमा नानाथरी भुइँचालो गयो । अनेकौं शङ्का उपशङ्का उत्पन्न भए । लोग्ने मान्छे हो केही काम पर्यो होला आउलान नि भन्ने सोच्दै झुर्का–झुर्की बटुलेर आगो बाली । ठूलो कालो कित्लिमा पानी बसाई । कित्लिको पानीसँगै खत्रीनीका कल्पना उम्ले पोखिए तर खत्री आएन । गाई भैंसीलाई दाना पानी पकाएर पाडा–बाछालाई दिइ, दुध दोएर कुँडेमा बसाई, दुधसँगै फेरि सबै तरङ उम्लनु लागे, ठेकिमा दुध खन्याएर बाहिर निस्किएको तर पनि खत्री कता अल्पियो पत्तो पाइन ।
ढोका तानेर तल्लो घर पुरेत बाजेकोमा जादा पनि खत्री थिएन । पुरेत पाठ पूजामा थिए । ‘हरि ॐ नारायण नारायण’ भन्दै गर्दा खत्रीनीले पुरेतिनी समक्ष वृतान्त बताई । पाठमा बसेको तर मन चै कुराकानीमै भएकोले पुरेतले नआतिने सल्लाह दिए । ‘हिजो दिउँसो भन्दै थियो तीज आइसक्यो, आमालाई छिटको साडी र छोरालाई एउटा सुट किन्नुपर्ने पैसा छैन तर मसँग फुटेको कौडी थिएन पारिघरेकोमा गयो होला, नाबालक नानी आमा छोडेर त्यो कहाँ जावस ?’ सम्झाइ बुझाइ गरेर पुरेतले खत्रीनीलाई घर पठाए । गह्रौं मन बनाउदै खत्रीनी भित्तो समाउदै घरमा आई । नानीलाई दुध र गिलो माम खुवाएर नानाथरी सोच्न थाली ।
लोग्नेको बद्लिँदो स्वभाव, चिन्ता र ब्याकुलताले खत्रीनीलाई भत्भती पोल्न थाल्यो । माथ्लो घरकी गंगा सधैं दुध माग्न आउथी । ‘माइला दाजु कहाँ जान्थेर केही आवश्यक काम पर्योे होला बिहानै निस्केछन बिचरा ! भोली दर खाने दिन । रुपैयाँ पैसा खोज्न गए होलान् पारी गाउँ । तिमीलाई माइत पठाउने, नानी देखाउने, आउलान्नी’ भन्दै सम्झाइ । खाना पिना बनाएर राखिदिनु तिमी पनि खानु भन्दै गंगा दुध लिएर फर्की । मनमा अनेक पिर मार्का बोकेर खत्रीनीले ग्वालिको तल्लो पाटोमा भुँइ घाँस काटी । वस्तु भावलाई हालेर घरमा आउँदासमेत खत्री माइलोको लिसो पत्तो थिएन । खाना पिना बनाएर पूजा गर्दै गहभरी आँसु झार्दै भगवान समक्ष बिलाप गर्न लागी । लोग्नेलाई खाना राखिदिदै, पानीसँग अड्किदै दुइ गाँस खान खोजी, तर घाँटी भित्र छिरेन । मध्यदिउँसो हुँदा समेत खत्री आएन । खत्रीनीको होस हवास उड्यो ।
भोलिपल्ट तीजको दर खाने दिन थियो । पोहोरको दशैँमा पनि माइत नगएकी । यो तीजमा माइत जाने खत्रीनीको सपना । माइतीलाई नानी देखाउने उसको कत्रो इच्छा, आज मलाई लिन् भाइ आउने बेला भै सक्यो तर घरमा भिनाजु छैनन् । भाइले के सम्झिन्छ होला । हिजो बारीमा कोदो रोप्दा धरी माइत पठाउने खत्रीको कुरा । एक बर्षदेखी यो तीजको प्रतीक्षा गरेको । हाय दैव ! खत्रीनी रुँदा रुँदै बेहाल भइ, भित्र नानी रोइरहेको थियो । छिमेकी आएर खत्रीनीलाई सम्झाउन लागे । चाडबाडको दिन । गरिबलाई भगवान्ले पनि के गरेको होला ? घर बाबु भनेको कस्तो रहेछ । छिमेकीले पनि आँसु थाम्न सकेनन् । सबै रोए । खत्रीनी घरीघरी देउता थानमा गएर भगवान पुकार्थी तर आफ्नो अर्धाङ्गलेत एक शब्द नबोली कहाँ हिडेको मुर्तिले के उत्तर दिन्थ्यो !!
घाम डुब्न लागेका थिए । साँझ पर्यो खत्री माइलो आएन । सबै ट्वाल्ल परेर अबोध बालक र खत्रीनीलाई हेरि रहेका थिए । अचानक घर मुनिको टारको पाटाबाट टर्चको उज्यालो देखियो । उज्यालोमा दुइजना ब्यक्ति आउदै गरेको देखियो । निकैबेर पछि आगनमा आइपुगे । खत्री माइलो र उसको सालो झोलामा टन्नै सौदा पात बोकेर ठिङ्गै उभिए । खत्रीनी कंकला शब्द गरेर रुँदै घर उचाली । खत्रीलाई अङ्गालोमा कसी । खत्रीले पारिघरेकोबाट रुपैया सापटी लिएको र बजारमा सालोलाई भेटेरसँगै आएको बतायो । ‘माइली मैले तिमी आमा छोरालाई माइत पठाउने बचन गरेको थिएँ । अब भोलि जानुपर्छ तिमी । भाइ लिन आएको छ । के को तमासा देखाउँछौ ? मेरो जिम्मेवारी पो त ? तिमीलाई हरेक सुख दिने ।’ खत्रीनी खुशीले गदगद भई । भाइले तमासा हेरिरहेको थियो । छिमेकी पनि अवाक हुदै फर्किए । झोला भित्रबाट छिटको साडी निकालेर खत्रीनीलाई देखायो । नानीलाई पनि कति राम्रो सुट जुत्ता ल्याइदिएछ । बर्खाभरी खाने सौदा पात ल्याएछ । खत्रीको घरमा तीजको रौनक आयो । खाना खाएर सुते । बिहानै खत्रीले तल खोलाटारसम्म नानी बोकेर दिदी भाइलाई पुर्यायो।
बेलुकीपख खत्रीनी दिदी भाइ माइतीघर पुगे । आमा सिकुवामा बसेर सिमी, बोडी, करेला इस्कूस काट्दै थिइन । बाबु अगेनामा ढकने भुट्दै थिए । छिटको साडमिा सजिएकी मुटुको टुक्रा खत्रीनलिाई देखेर आमा दौडदै आइन । नानी खोस्दै आमा भन्न थालिन् । ‘आमुइ मेलो नाती, मामासंग आयो, खिरी पापा खान्छ, मेलो काले’ भन्दै आगनमा नाँच्न थालिन । बाबुले चिया खाजा खुवाए । आधा रातसम्म माइतीघरमा दर खाए । भोलिपल्ट आमा छोरिले ब्रत बसे । पर्सिपल्ट पञ्चमी नुहाएर पुजा लाए । पतिको लामो आयुको कामना गरे । खत्रीनी कति खुशी थिइन । रातो साडी, चुरा पोते लाएर खत्रीनीका दिदीबहिनीहरु तीजको गीतमा खुब नाचे ।






