थप ६ सय ४१ जनामा कोरोना सङक्रमण, सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुग्यो

काठमाडौं,
साउन ३२ ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९)का थप ६ सय ४१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा ६ सय ४१ सङ्क्रमित थपिएका जानकारी दिनुभएको हो । थपिएका सङ्क्रमितमा २ सय १८ महिला र ४ सय २३ पुरुष रहनुभएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २६ हजार ६ सय ६० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ३ सय ३५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

आइतबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय २१ रहेको छ । प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार २ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको बताउनु भयो । योसँगै हालसम्म जम्मा ५ लाख १७ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ७ सय २४ छन् । आइतबारसम्म देशभर १५ हजार २ सय ४३ जना क्वारेन्टिनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा आइतबार १ सय ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जना कोरोना सङ्क्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

आइतबार थपिएकासहित काठमाडौं उपत्यकामा कूल सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ६७ पुगेको छ । काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय ६८ र भक्तपुरमा १ सय ३२ सङ्क्रमित पुष्टि भएका छन् ।

यस्तै कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङका महिला रहेका रहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनको सङ्ख्या १ सय ४ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार