काठमाडौं,
असार ६ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विहे गरेको सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्ने निर्णय गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने निर्णय गरेको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विहे गरेको सात वर्षपछि अङ्गीकृत नागरिकता दिने र त्यस अघिसम्म स्थायी आवाशीय प्रमाणपत्र दिने नेकपाले निर्णय गरेको छ ।
संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवाह गरेको सातवर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको हो ।
२०७५ सालेदखि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा यसअघि राज्यव्यवस्था समितिमा रहेका सदस्यहरुलाई बोलाएर नेकपाका अध्यक्षद्वयले छलफल गरेका थिए । सबै सांसदहरुले सातवर्षको अवधिपछि मात्रै अङ्गीकृत नागरिकता दिनुपर्ने बताएका थिए ।






