काठमाडौं,
मंसिर २० ।
स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले दर्शकको माया पाइरहेको छ । शो प्रशारण भएसँगै यसको लोकप्रियता बढदै गएको हो ।
कुनै विदेशी शो को फ्रेनचाइज नरहेको ‘कमेडी च्याम्पियन’को युट्युबमा सार्वजनिक शोलाई दर्शकले रुचाएसँगै ट्रेन्डिङमा पर्न सफल भएको छ । स्वदेशी कन्सेप्टमै तयार शोले पाएको माया देखेर यतिबेला टिम हौसिएका छन् ।
शो कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको छ भने युट्युबमा कमेडी च्याम्पियनकै च्यानलमा उपलब्ध हुने गरेको छ । ‘दर्शकले दिनु भएको मायाले झनै दायित्व थपेको छ’ शो निर्देशक विशाल भण्डारी भन्छन्, ‘क्वालिटीको कन्टेन दिने हो भने विदेशी शोको अधिकार महँगोमा खरिद गर्नै पर्दैन ।’ यसलाई कमेडी च्याम्पियनले पनि केहि हदसम्म प्रमाणित गरेको छ ।
यसैले गर्दा अघिल्ला शोमा देखिएको केही कमीकमजोरीलाई दर्शक तथा शुभेच्छुककै सल्लाह अनुसार आउँदो एपिसोडबाट समाधान गर्ने प्रयास गरिएको समेत निर्देशक भण्डारीले बताएका छन् । शोमा निर्णायकको रुपमा वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहेका छन् ।
यतिबेला टप १५ छनौट भईसकेका छन् । अब भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गरिरहेको छ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो विशाल भण्डारीको निर्देशनमा तयार भईरहेको छ ।
शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रिमा विश्वकर्माले होस्ट गरिरहेकी छिन् । शोलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शन बिले हेरिरहेका छन् ।






