आज कोजाग्रत पूर्णिमा

काठमाडौं,
असोज २६ ।

नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै सकिदैछ ।

मान्यजनबाट टीका र जमरा गरी आशिर्वाद लिने क्रम आजसम्म जारी रहेको छ । बडा दशैँको दशौँ दिन अर्थात विजयादशमीको दिन शुभ साइतमा सुरु भएको जमरा र टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म रहने गर्दछ । हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडादशैँको दशौँ दिन दिनदेखि शुरु हुने यो क्रम पूर्णिमासम्म चल्ने गर्दछ । पश्चिम नेपालका कतिपय क्षेत्रमा भने दशमीको दिनमामात्र टीका लगाउने चलन छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँने गर्दछन् ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आकाशदीप दान, कार्तिक स्नान शुरु
यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याइन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ।

यसमा तपाइको मत

अन्य समाचार