काठमाडौं,
चैत्र १५ ।
गत पौषमा घोषणा गरिएको चलचित्र ‘हृदय भरी’ को छायाँकन शुक्रबारबाट प्रारम्भ भएको छ । राजधानीबाट सुरु भएको चलचित्रको छायाँकन लगभग ४५ दिन हुने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् ।
राजधानीमा रहेको ‘द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ब्युटीप्याजेन्टको सिनको छायाँकन भईरहेको निर्देशक सुब्बाले जानकारी दिए । ‘चलचित्रको महत्वपूर्ण सिन हो यो जसले चलचित्रमा मोड ल्याउछ’ उनले सिनलाई बुझाउदै भने ‘ब्युटीप्याजेन्टको फिनालेको दृश्यको सजावट हो त्यसैले निकै मेहनतका साथ खिचिरहेका छौ ।’
झन्डै पन्ध्र बढी व्यावसायिक मोडेलसँगै डेब्यु गर्ल श्रद्धा र रेखालाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफ गरिरहेकी थिइन् । चलचित्रको यस दृश्यलाई निर्देशक सुब्बाले ४ वटा क्यामेराले कैद गरिरहेका थिए । उनले चलचित्रको सब्जेक्ट काठमाडौं कै रहेकोले यसको गीत धरान र विदेशमा खिचिने बताए ।
‘सोसल ड्रामा हो तर चलचित्र भरपुर मनोरञ्जनले भरिपूर्ण हुनेछ’ निर्देशक नाल्बो विश्वस्त छन् । उनकै लेखनमा तयार हुने चलचित्रमा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दीपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्रीलगायतको अभिनय रहनेछ । यसैचलचित्र मार्फत श्रद्धा छेत्री नेपाली चलचित्रमा डेब्यु गदैर्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् ।
चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।
चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अर्जुन पोखरेल, हरि लम्साल, दीपक शर्माको सङ्गीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुसालको लेखन, बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रमा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । चलचित्र भाद्र २७ मा सिनेमाघरमा आउने मिति तय गरिएको छ ।






