काठमाडौं,
कात्तिक १३ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भू-भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम सम्म वर्षा र हिमपातको सम्भावना छ ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै, महाशाखाका अनुसार आज राति देशभर अधिकांश बादल लाग्नेछ । देशका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ ।
शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।






