काठमाडौं,
कात्तिक १४ ।
बगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने क्रम जारी छ । यद्यपि, आज (शनिबार) अपराह्नदेखि चक्रवात अर्नबको प्रभाव क्रमशः कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार बिहान ६ः२४ बजे सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मनाङ जिल्लास्थित ताल मौसम मापन केन्द्रमा रेकर्ड भएको छ । उक्त केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।
सो अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ । गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
शनिबार राति भने देशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
चक्रवात अर्नबको प्रभाव क्रमशः कमजोर हुँदै गए पनि पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहने भएकाले केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।







